Mukhundo.com

रेडियोको १०० दिन उत्साह र सौहर्दपूर्ण


mukhundo.com, २०७७ मंसिर १५ सोमबार


सचेत घिसिङ 

संचार यात्राको दैरानमा आफै मालिक र आफै कर्मचारी भएर पहिलो पटक होइन यो मेरो दोस्रो यात्रा हो । सतर्क मिडियासंगै रहेर युट्यूब र अनलाइन संस्करण विस्तार गरी यस अघि नै संचार क्षेत्रमा क्रियाशिल भएको छु । मलाई थाहा छ, यो यात्रामा हुने तमाम कठिनाइ र सहज र असहजताको विषय ।

जब दोरम्बामा आइसकेपछि मलाई धेरैले उमेर सोध्यो, अध्ययन सोध्यो, बैबाहिक जीवन यात्राको कुरा गर्यो । मैले सहज उत्तर दिए साँढे दुई दशकको यात्रा पार गरे र तीन दशक अझै पुगेको छैन । मेरो पत्रकारितमा स्नातक, र फेरी सामाजिक कार्यमा स्नातक गर्दैछु । स्नाकोत्तर मैले गरेको छैन र जोइन अहिले नै गर्दिन ।
बिबाह, मेरो अहिले नै इच्छा छैन । मैले सहज जवाफ दिएको छु । अनुभवको कुरा गर्ने हो भने मेरो पत्रकारिता यात्रा १२ बर्ष पूरा भएको छ । २०६५ सालबाट सुरु भएको मेरो पत्रकारिता आजसम्म चलिरहेको छ । तर यहाँबाट म भाग्न चाहन्न । यसलाई नै निरन्तरता दिदै जीवनको अन्तिम सास रहुञ्जेलसम्म मेरो यो यात्राले निरन्तरता पाउनेछ । बरु चिता उक्लिन तयार हुँदासम्म यो पेशाबाट टाढा भाग्दिन । भाग्न चाहन्न । यो मेरो प्रण हो ।

रेडियो देखि रेडियोसम्म

मेरो पत्रकारिताको पहिलो जग नै रेडियो हो । रामेछापको पहिलो र स्थापित हजुरको रेडियोको एउटा सामन्य रेडियो रिपोर्टरबाट सुरु गरेको मेरो यात्रा रेडियो, पत्रपत्रिका अनलाइन, टेलिभिजन, सामाजिक संजाल यूट्युब हुदैँ फेरी रेडियोमै आएर टोकिएको छ ।
मैले नेपालको आधा दर्जन संचारगृहका काम गरेको छु । स्थानीयदेखि नेपालकै व्यवसायिक हिसाब र जनताको रुची अनुसारको पहिलो स्थानमा स्थापित संचारगृहसम्मको यात्रा गरेको छु । सामन्य रिपोर्टरदेखि सम्पादकीय भूमिकासम्मको जिम्मेवारी सम्हालेको छु । म टेलिभिजनमा काम गरिहदा जिल्लाका धेरै साथीहरुसंगसंगै रहेर काम गरेको अनुभव छ । फरक भू–गोल फरक समुदाय फरक व्यक्तिसंग मैले सात्क्षात्कार गरेको अनुभव पनि मसंग छ । त्यही अनुभव र सीप तथा जोस र जागरलाई सम्हालेर आफ्नै गाउँमा संचारको विकास गर्ने रहर जाग्यो र रेडियोको विकासमा लागे ।
अहिले रेडियोले नियमित प्रसारण गरेको पनि एक सय दिन भएको छ । यो यात्रामा हामीले श्रोता, विज्ञापनदातालाई सु–सुचित गर्न र गुणस्तरीय सुचना प्रसारणका लागि निकै तत्पर भयौँ । र रहिरनेछ पनि ।
यो एक सय दिन निकै उत्साहप्रद रह्यो । हामीलाई धेरै शु–भचिन्तकले हौसला प्रदान गर्यो । धेरैको साथ, सहयोग र शुभेच्छा पाइरह्यौँ । यो हाम्रो लागि सुनौलो अवसर थियो । हामी रेडियोको औपचारिक नियमित प्रसारणमा जोडिएको बेला रेडियोको टावर निमार्ण भइसकेको थिएन । हामीसंग अन्य सामाग्रीहरु प्रयाप्त थिएन । यही अवधीमा धेरै काम गर्न पाएका छौँ । नोबेल कोरना भाइरसले हामीलाई मात्र होइन सिंगो विश्वलाई असर गरिरहेको छ । यसमा हामी पनि अछुतो रहेन । हामी पनि प्रभावित भयौँ । यही दौरानमा हामीले धेरै काम गर्ने मौका पायौँ ।
तर संचार जगतमा केही भनाई छन् । म केही चर्चा गर्ने प्रयास गर्छु । यो यात्राले गर्न सिकाएको छ । विश्व संचार जगतमा दुई वटा भनाई छ, त्यो भनाईप्रति यो यात्राले पटक्कै काम गर्दैन र गर्न पनि चाहन्न । त्यसलाई पनि चिरफार गर्न आवश्यक जस्तो ठानेको छु । एउटासंग मेल खान्छ तर अर्को पटक्कै होइन । एउटा ‘‘मिडिया सेतो हात्ती’’ हो, मेरो अनुभवमा पनि संचारगृह सेतो हात्ती नै हो जस्तो लाग्छ । किन की सेतो हात्तीले धेरै खान्छ, र उसलाई धेरै क्षेत्रको पनि आवश्यक छ । अहिले त्यही भएको छ । बजार क्षेत्र कम छ । रेडियो अपरेटिङ कष्ट महंगो छ । यो भनिरहदाँ हामीलाई समस्या छ । भन्न खोजेको होइन अलि महंगो छ । यसलाई निरन्तरता दिन अलि गाह्रो भइरहेको छ भन्न मात्र खोजेको हो । हाम्रो यात्रा अहिले सहज र सरल छ ।
अर्को भन्नै पर्ने कुरा हो, ‘‘कालो धनलाई सेतो बनाउनु’’ यो अर्थमा पनि धेरैले बुझ्ने गरेका छन् । तर यसमा कुनै सत्यता छैन । विश्वका केही संचारगृह यस्तै पनि भएको छ । तर यो अहिले हामीले संचालन गरेको रेडियोको मामालामा होइन । अहिले विशुद्ध लगानी हाम्रो आफ्नै हो । कुनै लाभको पदमा बसेर अकुत कमाएको सम्पत्ति रेडियोमा लगानी गरिरहेको छैन । एक–एक थोपा पसिनाको मूल्यलाई यहाँ लगानी गरेका छौँ । कुनै विना श्रोत कुनै पनि लगानी हामीले गरिरहेका छैनौँ । मेरो रेडियो यात्रा र अनुभाव समेटिएका एउटा पुस्तक रेडियोको बार्षिक कार्यक्रमसम्म ल्याउने तयारी गरिरहेको छु । त्यसमा मैले सबै कुरा खुलाएको छु । त्यो पढेभने अझ प्रष्ट हुनेछ ।

बैदेशिक यात्रा रद्ध
भर्खरै एउटा बैदेशिक यात्रा रोकेको छु । ३ महिनाको लामो यात्राको तयारी गरिरहेको थिए । एउटा संस्थाले सामाजिक सुधारका पक्षमा एउटा सोध गर्ने र त्यसमा सहभागी बन्न आग्रह गरिएको थियो । मैले त्यो बैदेशिक यात्रा सहज र राम्रो हुने अपेक्षा गरेको थिए । किनभने म सामाजिक कार्यको विद्यार्थी हुँ, र त्यो यात्रा मलाई लाभ हुने खालके थियो । तर म त्यत्रो लामो समय बाहिर बस्दा रेडियो संचालनमा निकै समस्या आउने देखे र सबैको सल्लाहले त्यो यात्रालाई रोकेको छु । थाती राखेको छु ।

सामुदायिकरण
संचार जुनसुकै अवस्थामा जनपक्षीय नै हुन्छ । समुदाय केन्द्रित हुन्छ । जनताको आवाजलाई समेट्छ । तर लगानीको हिसाबमा संचारलाई बर्गीकरण गरिरहेको छ । यसले गर्दा संचारमा केही अप्ठेराहरु आइरहेका छन् । रेडियो ताल्चुइगढी प्राइभेट कम्पनीबाट लाइसेन्स लिएका हौँ । तर सरकारले सामुदायिक र निजी वा व्यवसायिक भनेर कुनै पनि संस्थालाई लाइसेन्स अर्थात अनुमतिपत्र नदिए पनि लगानीको हिसाबले यसलाई बर्गीकरण गरेको छ । र केही मापदण्ड पनि छन् । त्यही कुरालाई मध्यनजर गरी रेडियो तिहारको लक्ष्मी पूजाको दिनको अवसर पारेर सामुदायिक बनाउने प्रयात्न गरिरहेको छ । र प्रकृया सुरु भइसकेको छ । अब रेडियोको स्वामित्व एउटा संस्थालाई होइन समुदायलाई हुनेछ । समुदायको स्वमित्व रहनेगरी सामुदायिकरण बनाउने गरी तयारी थालेका छौँ । यो प्रकृया केही समय लाग्न सक्छ तर रेडियो पूर्णरुपमा सामुदायिकरण हुनेछ ।

मिल्टिमिडिया
यसअघि मैले धेरै कार्यक्रममा भनेको छु । हामी मल्टिमिडियामा केन्द्रित हुदैछौँ । अबको यात्रा हाम्रो यही हो । सामाजिक सञ्जाल, फेसबुक, यूट्युब, संगै प्रादेशिक स्तरको टेलिभिजन स्थापनाका लागि पनि हामी प्रयासरत छौँ । यससंगै दोरम्बाबाटै मासिक पत्रिका निकाल्ने तयारी अन्तिम चरणमा पुगेको छ । हामी छिट्टै तार्किक गन्तव्यमा पुग्नेछौँ ।

शेयर वितरण
अबको केही समयभित्रै सबैले लगानी गर्नसक्ने गरी रेडियोले शेयर खुल्ला गर्नेछ । तर यस अघि वितरण भएको शेयर यसैमा समाबेश हुनेछ । यसमा विभिन्न संस्था, व्यक्ति वा सरकार सहभागी हुन पाउनेछ । तर २५ प्रतिशतभन्दा बढी कुनै व्यक्ति वा संस्थाले लिन पाउनेछैन । र यसको स्वामित्व आम जनसमुदायलाई हुनेछ । यो यात्रामा सहयोग साथ र हौसला दिनुहुने सबैप्रति आभारी छौँ ।

( घिसिङ रेडियाे ताल्चुइगढीकाे कार्यकारी निर्देशक हुनुहुन्छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement