Mukhundo.com

के शुक्र ग्रहमा मडारिने बादलमा कुनै जीव हुनसक्छ ?


mukhundo.com, २०७७ असोज १८ आइतबार


बिबिसी

शुक्र ग्रहको बादलमा कुनै जीवको अस्तित्व छ कि भन्ने अद्भुत सम्भावनाबारे अहिले वैज्ञानिक चर्चा सुरु भएको छ।

त्यहाँको वायुमण्डलमा एउटा ग्यास भेटिएपछि खगोलशास्त्रीहरू त्यो कसरी बन्यो भनेर जान्न प्रयास गर्दैछन्।

त्यो ग्यास फस्फीन हो जुन फस्फरसको एउटा परमाणु र हाइड्रोजनका तीनवटा परमाणु मिलेर बन्छ।

पृथ्वीमा पेन्ग्विनको पेटमा वा कम अक्सिजन हुने धापमा बस्ने सूक्ष्मजीवले फस्फीन बनाउँछन्।

यो ग्यास कारखानामा उत्पादन गर्न सकिन्छ। तर शुक्र ग्रहमा कुनै कारखान छैन र त्यहाँ पेन्ग्विन हुने कुरै भएन।
त्यसोभए शुक्रको वायुमण्डलमा सतहबाट ५० किलोमिटर माथि यो ग्यास किन छ त? कार्डिफ यूनिभर्सिटीका प्राध्यापक जेन ग्रीभ्स र उनका सहयोगीहरू यही प्रश्नमा घोत्लिरहेका छन्।

उनीहरूले शुक्रमा देखिएको फस्फीन ग्यासबारे आफ्नो अध्ययन र त्यो प्राकृतिक रूपमा बन्न सक्ने सम्बन्धमा अनुसन्धान गरेर नेचर एस्ट्रनमीमा भर्खरै एउटा शोध प्रकाशन गरेका छन्।

तर अहिले उनीहरू तीनछक्क परेका छन्। यो कुरा उनीहरूले बीबीसीको स्काई एट नाईट कार्यक्रममा विस्तृतमा बताएका छन्।

शुक्र ग्रहबारे हामीले जे थाहा छ र त्यहाँ जेजस्तो अवस्था छ त्यसको आधारमा भेटिएको जति मात्रामा फस्फीन ग्यास त्यहाँ कसरी उत्पन्न भयो भन्नेबारे कसैले भन्न सकेको छैन। यसको अर्थ त्यहाँ जीवन हुनसक्ने सम्भावनामा विचार गरिनुपर्ने उनीहरूको भनाइ छ।

हाइड्रोजन र फस्फरसका परमाणु मिलेर फस्फीन ग्यास बन्छ।
“मेरो शोधजीवनभरि म यो ब्रह्माण्डमा अन्यत्र पनि जीवन छ कि भनेर खोज्न इच्छुक रहेँ। त्यसैले यो कुराको सम्भावनाले मात्रै पनि म चकित छु,“ प्राध्यापक ग्रीभ्सले भने।

“तर हामीले कुनै कुरा अध्ययन गर्न छुटायौँ कि भनेर अन्य मानिसका कुरा सुन्न चाहन्छौँ। त्यसैले हाम्रो लेख र तथ्याङ्क सबैका लागि निःशुल्क उपलब्ध छ। विज्ञानले यसरी नै काम गर्छ।“

पत्ता लागेको कुरा के हो?
प्राध्यापक ग्रीभ्सको टोलीले सुरुमा अमेरिकाको हवाईमा रहेको जेम्स क्लेर्क म्याक्स्वेल टेलिस्कोपबाट शुक्रमा फस्फीन ग्यास गरेको पत्ता लगाए र त्यसपछि त्यो कुरालाई चिलेमा रहेको अटाकामा लार्ज मिलिमिटररसबमिलिमिटर अरेबाट प्रमाणित गरे।

शुक्रको वायुमण्डलमा त्यो ग्यासको मात्रा कम छ। एक करोड अंशमा १०(२० अंश मात्रै। तर त्यहाँको अवस्थाका हिसाबले त्यो धेरै नै भएको वैज्ञानिकहरूको बुझाइ छ।

पृथ्वीबाहिर जीवनको कुरा गर्दा शुक्रमा हुनसक्ने सम्भावनाको खासै कुरा हुँदैन। पृथ्वीसँग तुलना गर्दा शुक्र नर्क हो।
यसको वायुमण्डलमा ९६ प्रतिशत कार्बन डाईअक्साईड छ जसको ग्रीनहाउस असरले त्यहाँको जमिनको तापक्रम भट्टीमा जस्तो ४०० डिग्री सेल्सीअसभन्दा माथि हुन्छ।

शुक्रमा पुगेका अन्तरिक्ष अध्ययन गर्ने उपकरण केही मिनेटमै ध्वस्त भएका छन्। तर त्यो जमिनको ५०(६० किलोमिटरमाथि आकाशमा भने तापक्रम हाम्रो लागि सामान्य छ। त्यसैले शुक्रमा जीवन छ भने त्यही स्थानमा मात्र सम्भव छ।

काल्पनिक चित्रः शुक्रको वातावरण नारकीय छ र त्यहाँको सतहमा जीवन हुने सम्भावना न्यून भएको वैज्ञानिकहरूको बुझाइ छ

तर किन हामीले शङ्का गर्नुपर्छ?
त्यहाँको बादल बाक्लो र ७५ देखि ९५ प्रतिशत सल्फ्युरिक एसिडले बनेको छ जुन पृथ्वीमा पाइने जस्तो जीवको कोषका लागि विनाशकारी विष हो।

अमेरिकी जीववैज्ञानिक डा. विलियम बेन्स पनि यो अध्यनमा सहभागी भएका थिए। उनले त्यो ग्यास त्यहाँ ज्वालामुखी फुट्दा वा बिजुली चम्किँदा उत्पादन भएको हो कि भनेर अध्ययन गरे।

तर त्यति मात्रामा फस्फीन ग्यास बनाउन ज्वालामुखी वा बिजुली १०,००० गुना शक्तिशाली हुनुपर्ने निष्कर्षमा उनी पुगे।
त्यहाँको मात्रामा रहेको सल्फ्युरिक एसिडबाट कुनै जीवित कोषलाई जोगिन कि जीवरासायनिक संरचनामा ठूलो परिवर्तन भएको हुनुपर्छ कि अन्य कुनै ढाल सिर्जना भएको हुनुपर्छ।

प्रतिक्रिया कस्तो छ?
ग्रीभ्सको टोलीले शुक्र ग्रहमा जीव पत्ता लागेको दाबी गरेको छैन।


शुक्र ग्रहको सतहमा पुगेका सोभियत प्रोबहरू केही चित्र पठाएपछि नष्ट भएका थिए ।

उनीहरूले खालि यस विषयमा सम्भावनाबारे विचार गर्नुपर्ने बताएका छन्।

अक्सफर्ड यूनिभर्सिटीका डा. कोलिन विल्सनका अनुसार सन् २००६ देखि २०१४ सम्म युरोपियन स्पेस एजेन्सीको शुक्र अन्वेषण योजनामा काम गरेका थिए।

उनले ग्रीभ्सको अनुसन्धानले सो ग्रहको अध्ययनमा नयाँ आयाम थप्ने बताए।
“यो साँच्चिकै उत्सुकताको कुरो हो र त्यो ग्यास त्यहाँ नभएकै भए पनि यसले नयाँ तथ्यहरू पत्ता लगाउनेछ,“ उनले भने।

वेस्टमिन्स्टर यूनिभर्सिटीका प्राध्यापक लेविस डार्ट्नेलले भने मङ्गल अथवा बृहस्पतिका चन्द्रमाहरू वा शनि ग्रहमा जीवन हुने बढी सम्भावना रहेको बताए।

 

थप कुरा कसरी पत्ता लाग्छ?
यस विषयमा थप जानकारी पत्ता लगाउन शुक्रको वायुमण्डल अध्ययन गर्ने अन्वेषण नै पठाउनुपर्छ।

नासाले हालै वैज्ञानिकहरूलाई सन् २०३० को दशकमा सम्भावित अन्वेषण गर्न योजनाको प्रारूप तयार पार्न भनेको छ।
तर त्यो एकदमै खर्चिलो काम हो। नासाले एक प्रकारको बलूनलाई शुक्रको वायुमण्डलमा छोड्ने खालको योजना बनाउन भनेको छ।

“सन् १९८५ मा रुसले भेगा बलूनबाट यस्तो गरेको थियो,“ टोलीमा रहेकी प्राध्यापक सारा सिगरले भनिन्।

“बलूनलाई सल्फ्युरिक एसिडबाट बचाउन टेफ्लनले छोपिएको थियो र त्यो केही दिन त्यहाँको आकाशमा रहेको थियो।“

प्रतिकृया

प्रतिकृया

Advertisement