Mukhundo.com

पर्यटकीय गाँउ दोरम्बा  घुम्न जाऔँ 


mukhundo.com, २०७७ असोज १० शनिबार


पर्यटकीय गाँउ दोरम्बा  घुम्न जाऔँ 

मविन थिङ तामाङ

पर्यटन भन्नाले कुनै पनि स्थानबाट बसोबास र पैसा आर्जन नगर्ने र आफुसँग भएको पैसा खर्च गर्ने गरी एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देशबीच घुमफिर गर्नु नै पर्यटन हो । पर्यटकहरु आफू एक्लै वा समुहमा घुमफिर गर्ने शिलशिलामा प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदा हेर्ने, मनोरञ्जन, तिर्थयात्रा, पथमार्ग, हिमाल आरोहण, अध्ययन अनुसन्धान, आफन्त भेटघाट, सभा सम्मेलन, खेलकुद आदि जस्ता विषयहरु पर्दछ ।

शैलुङ–दोरम्बा–तिमाल पथमार्गको रुपमा काभे्रपलाञ्चोक तिमालका टुर गाइड (पथ प्रदर्शक) हरुले क्याम्प (शिविर) का रुपमा विदेशी अतिथिहरुलाई घुमफिरका लागि यसै भेगमा भौगोलिक, ऐतिहासिक, साँस्कृतिक क्षेत्रहरुमा स्वच्छ मनोरञ्जनका लागि ल्याउने गरेको पाइन्छ ।

नेपालमा पर्यटनको विकास सन् १९५० मा फ्रेन्च पर्वतारोहि मोरिस हर्जोगले प्रथम पटक अन्नपूर्ण हिमालको सफलता पूर्वक आरोहण गरे पश्चात नेपालको बारेमा अन्तराष्ट्रिय जगतमा प्रचार हुन गयो । यस लगतै सन् १९५३ मे २९ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे । यी घटनाहरुले विश्वको ध्यान नेपालतर्फ केन्द्रित हुन गई पर्यटन विकासको ढोका खुल्न गयो ।

नेपालको पर्यटन विकाससँसँगै यस दोरम्बा शैलुङ क्षेत्रमा पनि पर्यटन विकासको थालनी सुस्ता गतिमा सुरुवात भएको इतिहास जीवन्त रहेका छन् । शैलुङ–दोरम्बा–तिमाल पथमार्गको रुपमा काभे्रपलाञ्चोक तिमालका टुर गाइड (पथ प्रदर्शक) हरुले क्याम्प (शिविर) का रुपमा विदेशी अतिथिहरुलाई घुमफिरका लागि यसै भेगमा भौगोलिक, ऐतिहासिक, साँस्कृतिक क्षेत्रहरुमा स्वच्छ मनोरञ्जनका लागि ल्याउने गरेको पाइन्छ । यद्यपी यस भेगमा १० वर्षे द्वन्दकालमा भने पर्यटकहरु ल्याउने र घुमफिर गर्ने कुरा पूर्णरुपले बन्द नै रह्यो ।

यस दोरम्बा शैलुङ क्षेत्रमा द्वन्दकालको अन्तिम अन्तिम समयमा २०६१ सालतिर तत्कालिन रामेछाप जिल्लामा जिल्ला विकास समिति रामेछाप, उद्योग वाणिज्य संघ मन्थलीको समन्वयनमा अन्तराष्ट्रिय श्रम संगठन (ILO)ले विभिन्न क्षेत्रमा विकास र जनचेतनाका कार्यहरुलाई अगाडि बढाउने तत्परता देखायो । यस शिलशिलामा द्वन्दले बन्द रहेको पर्यटन क्षेत्र पश्चिम रामेछाप पर्यटन विकासका लागि आफ्नो कार्ययोजना अगाडि बढायो । यस विषयलाई अगाडि बढाउने सन्दर्भमा ‘आदिवासी जनजाति पथमार्ग’ (Indigenous people trail) छोटकारीमा (IP trail) नामाकरण गरी ७ देखि ८ दिनको पथमार्गको रुपमा अगाडि बढाइएको पाइन्छ ।

जिल्ला विकास समिति रामेछाप र उद्योग वाणिज्य संघ मन्थली विचमा यस कार्ययोजनालाई अगाडि बढाउन पुलको भूमिका भने जनभावना युवा क्लव (JYC)ले निर्वाह गरेको थियो । यो पथमार्ग सिन्धुपाल्चोक जिल्लाको मुढे बजारदेखि रामेछाप जिल्लाको लुभुघाटसम्मको दुरीलाई आधारमानी बनाइएको पथमार्ग हो । यस बीचमा समुद्र सतहदेखि ३१४५ मिटर अग्लो शैलुङ जहाँबाट संसारको सबैभन्दा अग्लो सगरमाथादेखि नुम्बुर, गौरीशँकर, गणेश, जुगल, लाङटाङ, अन्नपूर्ण, माच्छापुच्छ्रे, मनास्लु जस्ता हिमश्रृँखलाहरुको दृश्य अवलोकन गर्न सकिन्छ । शैलुङ एक प्राकृतिक रुपमा अनुपम उपहार हो । शैलुङबाट दक्षिणतिर महाभारत श्रृँखलाहरुको दृश्यालोकन गरी भौगोलिक सुन्दरताको भरिपूर्ण मनोरञ्जनको अनुभूति गर्न सकिन्छ ।

” तामाङ जातिको धर्म, सँस्कार, सँस्कृति, रीतीरिवाज, चालचलन, खानपान, भेषभुषा जस्ता छुट्टै आभास लिन र थामी जातिका धर्म, सँस्कार, सँस्कृति, रीतिरिवाज, चालचलन, खानपान भेषभुषा जस्ता भिन्न खालको अनुभूति गर्न  सकिन्छ ।”

यो पर्यटकीय क्षेत्रमा शैलुङको राजभिरमा बौध्दशैली र त्यसमा आधारित राजभिर गुम्बा आफैमा अनुपम रहेको छ । त्यसको तल डडुवा धारा आईसकेपछि शेर्पा जातिका धर्म, सँस्कार, सँस्कृति, चालचलन, रीतिरिवाज, खानपान, भेषभुषा लगाएका पृथक खालको शेर्पा जातिको बसोबास भेटिन्छ । लगभग २/३ घण्टापछि सुर्के गडीगाऊँमा हिड्दै झरेपछि थामीहरुको घनावस्ती रहेका छन् । साथै नेवार र मगरका पनि बस्ती भेटिन्छ ।

यहाँ विशेष हेर्ने लायक भने थामी जातिका धर्म, सँस्कार, सँस्कृति, रीति रिवाज, चालचलन, खानपान भेषभुषा जस्ता भिन्न खालको अनुभूति गर्न सकिन्छ । सुर्के गडीगाऊँबाट लगभग २/३ घण्टाको दूरी हिँडेपछि ‘पर्यटकीय गन्तव्य गाउँ दोरम्बा’ आइपुगिन्छ । पर्यटकीय गाउँ दोरम्बामा तामाङ जातिको धर्म, सँस्कार, सँस्कृति, रीतीरिवाज, चालचलन, खानपान, भेषभुषा जस्ता छुट्टै आाभास लिन सकिन्छ । यो दोरम्बा पर्यटकीय गन्तव्य गाउँ आफैमा प्रकृतिको छठाले भरिपूर्ण भिरालो परेको उपत्यका जस्तै तामाङहरुको घनावस्ती हो । यो गाउँ प्राकृतिक रुपमा सुन्दरताले छाएको भूमि हो । यस गाउँको दृश्यालोकन तथा बसोबासमा नरम्नेहरु कमै होला ।

पर्यटकीय गन्तव्य गाउँ दोरम्बाको अर्को विशेषता समुन्द्री सतहबाट २४०७ मिटर अग्लो स्थानमा रहेको पोपोल्हा अर्थात अग्लेश्वर जङ्गल जहाँ प्राकृतिक रुपमा आफै भरिपूर्ण छ ।वनका प्रजातिका धेरै वर्णन नगरौँ –वन जङ्गल आफैमा प्राकृतिक सुन्दरता छ । यस जङ्गलमा वन्यजन्तुहरु चितुवा, मृग, खरायो, रातो बाँदर, सेतो बाँदर, मालसाप्रा, लोखर्के जस्ता प्रत्यक्ष देख्न सकिन्छ । पँक्षीहरुमा कालिज, च्याखुरा, ढुकुर, तितरा, भ्याकुर, फिस्टे, लाटो कोसेरो जस्ता पँक्षीहरुले वर्षै वर्षदेखि विचरण गर्दै आएका छन् ।

यस वन क्षेत्रमा धार्मिक दृष्टिकोनले हिन्दूलम्बीहरु मनोकाँक्षा पूरा हुन्छन्, भनी अग्लेश्वर महादेवको पूजाआजा र भागल पनि गर्छन् ।आफूले भागल गरेको कुराबाट मनोकाँक्षा पूरा भएकाले महादेवलाई पूजाआजा गर्ने र गरेको भागल पुरा गर्ने कार्यहरु परम्परादेखि नै चल्दै आएको देखिन्छ ।बौद्घलम्बीहरु खोटाङको हलेसीबाट गुरु ह्रेम्बोर्जे (पद्मसम्भव) शैलुङ जाने शिलशिलामा पोपोल्हा अर्थात अग्लेश्वर विचरण गरेको तपोभूमिका रुपमा लिन्छन् । गुरु ह्रेम्बोर्जे (पद्मसम्भव)ले विचरण गरेको तपोभूमि भएकाले बौद्घलम्बीहरु यस ठाउँमा घुमफिर गर्नाले आफूलाई मनोशक्ति प्राप्त हुन्छ भन्ने आस्था विश्वास गर्छन् । यहाँ प्राकृतिक रुपमा नै ध्यानीहरुलाई ध्यानकेन्द्रका रुपमा पनि लिन्छन् ।

यद्यपी परापूर्वकालदेखि नै यस ठाउँको अनुपम महिमा रहदै आएको पाइन्छ ।
नेपाल सरकारले एक सय गाउँलाई पर्यटकीय गन्तव्य गाउँ छनोट गरी घोषणा गरेको गाउँ मध्ये यस दोरम्बा गाउँ पनि गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल (VITOF) को सिफारिसमा दोरम्बा गाउँलाई पर्यटकीय गन्तव्य गाउँ दोरम्बा नेपाल सरकारले २०७५ सालमा छनोट गरियो । सो गाउँ छनोट कार्यक्रम अनुसार काठमाण्डौमा स्थानीय तहको प्रतिनिधिहरु, गाउँ पर्यटन प्रवद्र्घन मञ्चका प्रतिनिधिहरु र यस क्षेत्रका सरोकारवालाहरु बीच पर्यटन मन्त्रीले एक कार्यक्रमका बीचपर्यटन बोर्डका हलमा पर्यटकीय गन्तव्य गाउँ दोरम्बा घोषणा गरियो । यस पर्यटकीय गन्तव्य गाउँ दोरम्बालाई प्रचार प्रसार गर्न सोही घोषणा अनुसार २०७६ साल वैशाख १२ गते एक समारेहका बीच दोरम्बा बजारमा एक भव्य कार्यक्रम गरियो । त्यसले आन्तरिक एवम् वाह्य पर्यटकहरुका लागि घुम्नै पर्ने गाउँको रुपमा चिनारी हुन गएको छ ।

यस आदिवासी जनजाती पथमार्गको मार्ग क्षेत्रमा पर्ने गाल्बा बजार, खाँडादेवी मन्दिर हेर्न लायकका क्षेत्रभित्र पर्दछ । यस पर्यटकीय पथमार्गभीत्र सुनापति डाँडा पनि प्राकृतिक रुपले हेर्न र घुम्न लायकका स्थानभित्र पर्दछ । सुनापतिसँगसँगै ढोग्ममा हर्याल्माली लामा सँस्कार सँस्कृतिको पहिचान देख्न र हेर्न पाइन्छ ।
यसरी यस पथमार्ग अन्तर्गत लुभुघाट पुग्दा हिमाली भेगबाट बहने सुनकोसीको कञ्चन पानीमा डँगामा सवार गर्न सकिन्छ । त्य ठाउँबाट माझि जातिका धर्म, सँस्कार, सँस्कृति, चालचलन, रीतिरिवाज, खानपान र भेषभुषा जस्ता जातीय पहिचान हेर्न र देख्न सकिन्छ ।

तसर्थःआन्तरिक एवम् वाह्य पर्यटकहरुका लागि ठाउँ विशेष होटल, लज, निजि र सामुदायिक होमस्टेहरुले सेवा प्रदान गर्दै आएका छन् । यस पथमार्ग भित्रको पर्यटकीय गन्तव्य गाउँ दोरम्बामा ह्यालुङ सोकरी होमस्टेमा मविन थिङले र वी एस २०६० सामुदायिक होमस्टेमा रेशमलाल योञ्जनले अतिथिहरुलाई अतिथित्यता, सम्मान सँस्कार गर्दै आएका छन् । निजी तथा सामुदायिक होमस्टेहरुमा पर्यटकीय गन्तव्य गाउँ दोरम्बामा अन्तराष्ट्रिय श्रम संगठन (ILO)ले होमस्टेको अवधारणा दिएदेखि नै २०६४ सालबाट नै क्रियाशील भई सेवा प्रदान गर्दै आइरहेका छन् । नेपाल सरकारले होमस्टे सञ्चालन सम्वन्धी कार्यविधि २०६७ जारी गरेकाले त्यसको आधारमा निजी तथा सामुदायिक होमस्टेले कानुनी रुपमा दर्ता गरी वैद्यता पायो । त्यसपछि निजी तथा सामुदायिक होमस्टेहरुले अतिथिहरुलाई सेवा सुविधाहरु प्रदान गर्दै आइरहेका छन् । स्थानीय पर्यटकीय आर्कषनहरु:
–प्राकृतिक सुन्दरता
–तामाङ जाति र यस जातिका धर्म, सँस्कार, सँस्कृति, रीतिरिवाज, चालचलन, चार्डपर्व, परम्परा, भेषभुषाहरु
–हिमश्रँखलाहरु, शैलुङको दृश्यावलोकन
–अर्गानिक खाद्य परिकार

-ऐतिहासिक ताल्चुइगढी दरबार
–पोमेल्हा (अग्लेश्वर)दर्शन एवम् विचरण
–शान्तिबाटिका
–सहिद स्मारिका आदि
उपलब्ध पर्यटकीय सुविधाहरु:
–तामाङ खाना र प्रचलित नेपाली खाना
–स्थानीय पेया पदार्थ
–आरामदायी आवासको सुविधा
–तातो चिसो पानीको व्यवस्था
–क्याम्प फाइर
–भ्रमन कार्यक्रमहरु
–दोरम्बा प्राथमिक अस्पताल
–प्रहरी चौकी
–सैनिक ब्यारेक आदि
यसरी ग्रामीण पर्यटनलार्य टेवा दिने शिलशिला जारी रहदै गर्दा चीनको वुवानमा सन् २०१९ डिसेम्बर अन्तिमबाट सुरु भएको कोविड १९ले विशवभरि नै महामारीको रुप लिदै गर्दा नेपाल पनि अछुतो रहन सकेन ।त्यसैले गर्दा नेपाल भ्रमण वर्ष २०२० लाई ठूलो प्रभाव पर्यो । अर्कातिर झन ग्रामीण पर्यटन अगाडि बढ्न नसकिने अवस्था सिर्जना हुन पुगेको छ ।

नेपालका लागि पर्यटन व्यवसायीसँग जोडिएका पर्यटन व्यवसायीका लागि ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था खडा भएका छन् । त्यसरी महामारीका बीचमा थिलोथिलोमा परेका पर्यटन व्यवसायलाई उकास्न र सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले ठाउँ विशेषलाई ध्यान दिँदै बाह्य पर्यटकहरुलाई भित्तयाउन नसकिए पनि आन्तरिक पर्यटकहरुलाई घुमफिर गर्ने वातावरण दिई अगाडि बढाउने कार्यलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।अन्तमा ४१ औँ अन्तराष्ट्रिय पर्यटन वर्ष २७ सेप्टेम्बर २०२० कोविड १९ महामारीका बीच पनि ठाउँ विशेष आफ्ना समय सापेक्षतामा समय अनुकूलताका बीच सफल गर्न सबै यस क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।यसलाई हृदँग्यम गर्दै आ–आफ्नो क्षेत्रबाट सफल बनाउनका लागी परौँ भन्दै आव्हान गर्दछु । ४१ औँ पर्यटन वर्ष (२७सेप्टेम्बर २०२०)को सुखद उपलक्ष्यमा सम्पूर्ण पर्यटन व्यवसायी, शुभचिन्तक, यस क्षेत्रमा लाग्नु हुने सम्पूर्ण सरोकारवाला सबैलाई हार्दिक मङ्गलमय शुभ–कामना व्यक्त गर्दछु ।

(लेखक हाेमस्टे एशाेसियसन नेपाल (HOSAN)का केन्द्रिय सदस्य हुन् )

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Advertisement