दोरम्बामा ५ शैयाकाे प्राथमिक अस्पताल मंगलबारदेखि संचालन


mukhundo.com, २०७७ भदौ २३ मंगलबार


दोरम्बामा ५ शैयाकाे  प्राथमिक अस्पताल  मंगलबारदेखि संचालन

रेडियाे ताल्चुइगढी

रामेछापको दोरम्बामा मंगलबारबाट दोरम्बा प्राथमिक अस्पताल संचालनमा आएको छ । दोरम्बाले गत बर्षको फागुनमा १५ शैयाको अस्पतालको स्वीकृति लिएको थियो । तर पूर्वधार र जनशक्तिको व्यवस्थापनमा भएको ढिलाइकै बाबजुत दोरम्बाले अहिले ५ शैयाबाट संचालन गरिएको हो ।

भवन संरचनाको निर्माण भइनसक्दा दोरम्बाले १५ सैयाको अस्पताल संचालनमा ल्याउन कठिनाई भएपनि अहिले कोरनालाई मध्येनजर गरी ५ शैयाको अस्पताल संचालन गरेको दोरम्बा प्राथमिक अस्पालले जनाएको छ । दोरम्बा प्राथमिकता अस्पताल संचालन भएसंगै दोरम्बाका स्थानीयमा सहजता छाएको छ ।

अस्पतालले विरामीको भर्ना लिने र शैल्यक्रिया बाहेकको अन्य काम गर्ने दोरम्बा अस्पतालले जनाएको छ । दोरम्बामा अब एक्स्रे, भिडियो एक्स्रेको व्यवस्था गरी जनतालाई सहज स्वास्थ्य सेवा दिने जनाएको छ । दोरम्बा अस्पतालको उत्घाटन दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले गर्नुभएको थियो ।

डाक्टरको प्रेप्किप्सन बिना औषधी बिरामीलाई  नदिनुः माेक्तान 

दोरम्बा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको दोरम्बा गाउँपालिकाकाको अध्यक्ष कमानसिं मोक्तानले बताउनुभएको छ ।

मंगलबार आज दोरम्बा प्राथमिक अस्पतालको उत्घाटन गर्दै अध्यक्ष मोक्तानले जनतालाई स्वास्थ्य सेवाबाट बन्चित नगराउनका लागि दोरम्बा गाउँपालिका प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

अध्यक्ष मोक्तानले जनताको स्वास्थ्यको मध्येनजर गरी निजि मेडिकलहरुले पनि डाक्टरको प्रेप्किप्सन बिना औषधी बिरामीलाई दिन नहुनेमा पनि जोड दिनुभयो । गाउँका विरामीलाई बढी दोजको औषधी दिने प्रबृत्ति भएको भन्दै यसलाई सबै निकायले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले औषधीको उपयोगको बारेमा संचारक्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष मोक्तानले दोरम्बा भौगोलिक अवस्थामा पनि निकै महत्वपूर्ण रहेको र दोरम्बामा अस्पताल स्थापना भएपछि छिमेकी गाउँपालिकाले समेत सेवा लिन सक्ने भएकोले दोरम्बामा स्थापना भएको अस्पतालको भूमिका बढ्ने बताउनुभयो ।

उहाँले अहिलेकै जनप्रतिनिधिले दोरम्बा प्राथमिक अस्पतालको भवन उत्घाटन गर्ने गरी द्रुतगतिमा काम भइरहेको पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा दोरम्बा गाउँपालिका २ दोरम्बाका वडाअध्यक्ष खड्क बहादुर श्रेष्ठले जनताको आवश्यकतालाई मध्येनजर गरी दोरम्बा प्राथमिक अस्पताल संचालनमा ल्याएको बताउनुभयो ।

उहाँले दोरम्बामा अस्पताल ल्याउन निकै कठिनाई व्यहोर्नुपरेको तर अहिले अस्पताल बनेपछि खुसी भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेकपा बागमति प्रदेश कमिटि सचिवालय सदस्य तुलाप्रसाद कडेलले रामेछापको दोरम्बामा स्थापना भएको अस्पताल रामेछापको दुइ नं क्षेत्रकै उद्धाहरणीय भएको बताउनुभयो । उहाँले अहिले स्वास्थ्यलाई पहिलो जोड दिनुपर्ने र स्वास्थ्य स्थिति मजबुद भए मात्र विकासका अन्य काम हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले स्वास्थ्यलाई जोड दिनुपर्छ, हामी स्वास्थ भएपछि मात्र भोली अरु काम गर्न सकिन्छ । नेता कडेलले दोरम्बाको विकासमा स्वास्थ्य क्षेत्रले निकै महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दोरम्बा गाउँपालिकाको प्रशासकीय अधिकृत धिरज मरासेनीले दोरम्बाको विकासमा लागि कर्मचारी क्षेत्रले गर्ने योगदानलाई कुनै कन्जुस्याई नगरीकन काम गर्ने बताउनुभयो । उहाँले दोरम्बामा अहिले अस्पताल स्थापना हुनु खुसीको कुरा भएको र दोरम्बा गाउँपालिकाकाले आगामी दशै अघि विकासको कामको लागि आवश्यक निति तथा कार्यक्रमको काम सकाएर आगामी बैशाखसम्ममा विकास निर्माणको सबै काम सकाउने गरी काम गरिरहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मरासेनीले गाउँगाउँसम्म पुगेर जनताको लागि पालिकाले काम गरिरहेको बताउनुभयो । यस्तै दोरम्बा गाउँपालिकाको स्वास्थ्य प्रमुख कमल भट्टराइले दोरम्बामा अस्पताल स्थापनाका लागि निकै कठिनाईहरु भोगे पनि दोरम्बामा अस्पतालको स्थापनाले सिंगो दोरम्बालाई खुसी दिलाएको बताउनुभयो ।

उहाँले दोरम्बामा अस्पताल स्थापना गर्न सहयोग गर्ने जनप्रतिनिधी, स्थानीय तथा कर्मचारी लगायत विभिन्न सरोकारवाला निकायलाई धन्यवाद दिनुभयो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement