कम्युनिष्ट पार्टीमा अन्तर संघर्ष स्वभाविक हो तर हनुमान बन्नु हुदैनः अध्यक्ष मोक्तान


mukhundo.com, २०७७ साउन ३२ आइतबार


रेडियो ताल्चुइगढी
डाडाँकटेरी । कम्युनिष्ट पार्टी भित्र अन्तरसंघर्ष हुनु स्वभाविक भएको नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तानले बताएका छन् । आइतबार रामेछापको दोरम्बामा आयोजित दोरम्बा हत्याकाण्डको १७ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले नेकपा भित्र अन्तर संघर्ष हुनु स्वभाविक भएको तर कुनै नेताको पक्षमा लाग्ने प्रबृत्ति गलत रहको बताएको हो ।

उनले विश्वमा नै कम्युनिष्ट पार्टीमा अन्तरसंघर्ष भए पनि एक नेताको पक्षमा उभिएर अर्को नेतालाई बाइपास गर्ने चलन नभएको र त्यसले पार्टीलाई नै हानी गर्ने बताउदै पार्टी भित्र अन्तर संघर्ष भएपनि हनुमान प्रबृत्तिलाई अगाल्नु अहिलेको नेकपाभित्रको समस्या रहेको बताए ।

उनले भने ‘अन्तर संघर्ष कम्युनिष्ट पार्टीमा स्वाभाविक हो तर एक व्यक्तिको पक्ष उभिनु चाँही हनुमान प्रबृत्ति हो । ’ अन्तर संघर्षलाई सकरात्मक रुपमा लिनुपर्ने बताउदै यसले पार्टीलाई सहि दिशामा अगाडी बढाउन स्थानीय, जिल्ला तथा केन्द्रका नेता तथा कार्यकर्ताले ध्यानदिनुपर्नेमा जोड दिए ।

उनले दोरम्बा हत्याकाण्डले नेपालको राजनीतिक परिस्थितिलाई परिवर्तन गरेको र दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएका सहिदको रगतले देश परिवर्तनमा ठूलो योगदान गरेको बताए ।

यस्तै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले जग्गाको व्यवस्था गरी दोरम्बा हत्याकाण्ड स्थललाई व्यवस्थित बनाउन दोरम्बा गाउँपालिका लागि पर्ने बताए । उनले जग्गाको विषयमा केही विवाद भए पनि जग्गा मिल्ने वित्तिकै सहिद पार्कलाई व्यवस्थित बनाउने बताए । उनले दोरम्बालाई युद्ध पर्यटनको विकासका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यस्तै, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले सत्ता विजय नभएसम्म सहिदको सपना पुरा नहुने बताए । उनले भने ‘अहिले सरकारमा पार्टी भए पनि सरकार पार्टीको प्रतिनिधी मात्र हो, जबसम्म जनताको जनबाद र समाजबाद निर्माण हुदैन तबसम्म सहिदको सपना पुरा हुदैन ।’


अध्यक्ष तामाङले सरकार नेकपासंग अहिले सरकार भए पनि राज्यसत्ता नभएको र सहिदको सपना अझै पुरा भईनसकेको अवस्थामा सहिदको सपना पुरा गराउन सबै तहका नेता कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले दोरम्बामा बगेको रगतले देश परिवर्तन भएको बताए । अहिले नेकपाको सरकारको निर्माण पनि सहिदकै योगदान भएको उनको भनाई थियो ।
.कार्यक्रममा नेकपाका प्रदेश सचिवालय सदस्य तुलाप्रसाद कडेल, नेकपाका दोरम्बा गाउँपालिकाका अध्यक्ष हिरा श्रेष्ठले सम्बोधन गरेका थिए ।

कोराना भाइरस कोभिड १९ का कारण सामाजिक दुरी कायम गरी अनौपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएका परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement