Mukhundo.com

दोरम्बा बजार ब्यवस्थापनमा छाएको अन्योलता हट्यो


mukhundo.com, २०७७ साउन ७ बुधबार


दोरम्बा । गत बर्ष स्थगित भएको दोरम्बा बजार व्यवस्थापन यस बर्ष सुरु हुने भएको छ । गत बर्ष स्थानीय बासिन्दाले विभिन्न माग राखी बजार व्यवस्थापनमा अवरोध गरेका थिए । बजार व्यवस्थापन गर्दा बजारमा रहेका स्थानीय बासिन्दाको पनि व्यवस्थापन गरिनु पर्ने तथा स्थानीयले बनाएको घर टहरा विना शर्त भत्काउन नपाउने भन्दै स्थानीयले उच्च अदालत पाटनमा  मुद्धा दर्ता गरेसंगै बजार व्यवस्थापनको कार्य रोकिएको थियो ।

बजार व्यवस्थापन गर्दा दोरम्बा बजारको सबै घर टहराहरु भत्काउने र घर टहराको क्षतिपूर्तिको विषयमा केही निर्णय नगरेको भन्दै स्थानीय मिनबहादुर घिसिङ र कुलबहादुर मोक्तानले बजार व्यवस्थापन तत्काल रोक्न माग गर्दै उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । दायर मुद्धामा स्थानीयको पुर्नस्थापना तथा व्यवस्थापन विना बजारको संरचना भत्काउन नपाउने माग गरेका थिए ।

यता स्थानीय सरकारले भने बजारमा रहेको जग्गा सरकारी भएको भन्दै क्षतिपूर्ति नदिने अडान राखिएको थियो । स्थानीयको माग र स्थानीय सरकारको अडानका कारण बजार व्यवस्थापन हुन सकेको थिएन ।

विभिन्न राजनीतिक दल, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको पटक पटकको छलफलमा पनि बजार ब्यवस्थापन गर्न निष्कर्षमा पुग्न नसक्दा बजार व्यवस्थापनमा अन्योलता छाएको थियो ।

यस्तै असार २७ गते भएको विभिन्न सरोकारवाला निकायसंगको छलफलमा स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधी तथा बजार बासिन्दाको प्रतिनिधीसहितको बैठकले बजार व्यवस्थापन गर्न सहज वातावरण बनाउने सहमति भएको थियो । यो सहमतिसंगै अब दोरम्बा बजार व्यवस्थापन हुने दोरम्बा २ का वडा सदस्य रन्जित मोक्ताले बताए ।

उनका अनुसार बजारमा रहेका घर टहराहरु भत्काउने र नयाँ बन्ने संरचनामा उनीहरुलाई सामेल गराउने सहमति भएको छ । बजारमा रहेका स्थानीय बासिन्दाको हकमा बजार व्यवस्थापन भइसकेपछि उनीहरुलाई बजारमा जग्गा उपलब्ध गराउने सहमति भएको छ । तर बजारमा एउटै प्रकारको संरचना बनाउनु पर्नेछ ।

बजार व्यवस्थापनका लागि २०६३ सालपछि बनेका संरचनालाई तत्काल हटाउने सहमति पनि भएको वडा सदस्य मोक्तानले बताए । उनका अनुसार अब दोरम्बा बजारमा एउटै मोडलका संरचना बन्ने र सुविधा सम्पन्न हुनेछ ।

बजार व्यवस्थापनमा गत बर्ष २० लाख रुपैया विनियोजन गरिएको थियो । तर गत बर्ष स्थानीयसंग सहमति हुन नसक्दा काम गर्न सकेको थिएन । यो बर्ष झण्डै ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो बर्षको बजेटले बजार व्यवस्थापनका लागि आवश्यक खानेपानी तथा ढल व्यवस्थापनमा खर्च गरिनेछ । यस्तै बजारमा रहेको सडकलाई चौडा बनाउने तथा बजार छेउमा रहेका घर टहरा पन्छाउने काममा खर्च गरिनेछ ।

यस्तै बजार व्यवस्थापनका लागि आवश्यक समन्वयन गर्नका लागि ५ सदस्यीय समिति पनि गठन गरिएको छ । दोरम्बा २ का वडा सदस्य रन्जित मोक्तानको संयोजकमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिले बजार व्यवस्थापन गर्ने जिम्मा पाएको छ ।

नाेटः यसअघि उच्च अदालत पाटनमा मुद्धा दर्ता भएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Advertisement