Mukhundo.com

तिमीले अन्याय, अत्याचार र पीडाको कथा लेख्न सघाइयोस्,


mukhundo.com, २०७७ साउन २ शुक्रबार


प्रिय डायरी,
हृदय भरिको अथाह प्रेम तेरो लागि । म , त अनि त्यो कलमको निब बिच गासिएको घनिष्ठता युगौ युग कायम रहिराखोस् । त मेरो सबथोक, दुःख पर्दा पीडा सुनिदिने छिमेकी , सुख पर्दा मुस्कुराइदिने मेरो साथी, हरेक अवरोधहरुमा आत्मबल बढाउन ढाडस दिने मेरि आमा,पङ्च्युअल भइ अगाडि बढ्न प्रेरित गर्ने मेरो बाबा, आउने पलहरु दुःखद या सुखद जे नि हुन सक्छ भनी भविष्यवाणी गरिदिने ज्योतिष र अझ भनौ गगन चुम्बी हिमाल छुने लक्ष्य अटाउने मेरो संसार, सबै त नै होस् मेरो।

चाहे दुःख, चाहे सुख , चाहे सफलता , चाहे असफलता हरेक क्षण हरेक पलको मित्र त संगको आत्मियतालाइ सायद यी अक्षरमा वर्णन गर्न नसकुला म, तर प्रयास गर्नेछु ।

त मेरो पहिलो प्रेम । जब देखि अक्षरहरुको जादुयी दुनियाले मलाइ लोभ्याउन थाल्यो त्यो दिन देखि त संगको प्रेमले दिनानुदिन मलाइ त भित्र हराइदिन थाल्यो । लाग्छ प्रत्येक सुनौलो पलहरुले जिन्दगिलाइ केही सुनौलो अवसर सगुन स्वरुप ल्याइदिदा रहेछन् , जस्तै त संगको निकटता । जिन्दगिका रंगिन पालुवाहरु समय अनुकुल फेरिएकै छन् ,संग–संगै त र म बिचको प्रेमले नयाँ फड्को मार्ने अवसर पाएकै छ । यो भन्दा धेरै खुशी मेरो लागि के हुन सक्छ र ? प्रियतम्, समयले साथ छोडे पनि मैले तेरो,अनि तैले मेरो साथ छोड्नु भएन।

छोटो जिवनका लामा घुम्तीहरुमा समावेश भएका कुनै नियोजित कुनै अनियोजित, कुनै रमाइलो, कुनै खिन्नता भित्रका सम्पुर्ण यात्राहरु मैले त सामु पोख्ने अवसर पाउछु। र त, कसैको कमि महशुस गर्दिन जिन्दगीमा । मात्र तेरो र मेरो आत्मियतामा म भरिपूर्ण भएको ठान्दछु,अरुको लागि चाहे यो भ्रम होस् या साचो प्रमाणित गर्न जरुरत ठानिन अहिले, तर मेरो लागि त सबै होस् । मैले कलम समाएर नेपाली अक्षर क,ख,ग,घ र अङ्ग्रेजी अक्षर ए,बि ,सि डि लाई छुट्याएर पुर्ण अक्षर भन्न र लेख्न सिक्दा सबै भन्दा पहिले आमा लेखेको थिए रे त्यो क्षणमा बाबाले तलाई उपहार स्वरुप मलाई दिनु भएको रहेछ।मेरो चिन्तामुक्त अनि समस्यामुक्त त्यो रमाइलो बात्सल्यको मिठो कहानी देखि लिएर आजको तनावग्रस्त अवस्थासम्म आइपुग्दा हामी बिचको बिस्वासको धरोहर मजबुतिका साथ खडा हुन पाएको छ ,नङ्ग र मासुको जस्तो आत्मियता कायम भएको छ। यो दृढ बिश्वास पनि छ कि मलाई, मेरो प्रत्येक गोपनीयता तसंग सुरक्षित नै तिमीसंगै छ । अरबौ धन्यवादका शब्दहरुलाई अञ्जुलीमा थापेर तेरो सामु पोखाउदा पनि पुग्ने छैन, किनकी त मेरो दुःखको आशु पुछ्ने रुमाल र सुखको नरम सिरानी जो परिस् ।

हिजो जे भयो भुलेर आजको सुनौलो दिनलाई अङ्गालेर जे गर्नु छ आजै गर्नु छ यो रणनीति बोकेर प्राइभेट जिन्दगी जिन्दावादका नारामा प्रिय डायरी आफैलाइ त भित्र समावेश गरिदिएकी छु मैले। जब तलाइ टेबलमा राखी मन र मस्तिष्कको पिडाको आवाजलाइ , मौनतामा परिणत गरि हातहरु हल्लाइ रहन्छु , सारा पिडा बिस्तारै बिस्तारै एक एक गरि घट्दै जान्छ ,अब बल्ल हलुँगो हुन्छु । फेरि समाधान नि तलाई पढेर पाउछु अनि उन्मुक्त भएर उड्न थाल्छु । मेरो अल दि बेस्ट मेमोरी र दि असम मेमोरी सबै–सबै त संग मात्र साटिएको छ, त भित्र मात्र अटेको छ। हुनत एउटा त मात्र छस्, जोबाट मैले गल्तिहरु औल्याइ सुधारिने मौका भेट्टाउछु र त, प्रगतिका खुड्किला चड्न सक्छु । जे होस् परिस्थिति जतिनै विकराल किन नहोस् आज र कहिले नभेटिने त्यो भोलिमा पनि मलाइ तेरो साथको अनि तेरो खाली पृष्ठहरुको खाचो छ, साथै हुन्छस् नि ??

त एक निर्जीव, तलाई मैले फ्याके पनि च्याते पनि कहिले गुनासो गर्ने छैनस्, म सामु आएर । तर मेरो सबै गुनासो सुनिदिने गुनासो पेटिका बनिदिइस्, मेरो खुसीहरु सुनिदिने खुशी पेटिका बनिदिइस्, । अरे यार परिस्थितिले मागेको साथी बनिदिइस् । तेरो हरेक पृष्ठमा समग्र म समेटिएकी छु, तर पनि कहिले गुनासो गर्दैनस्, । यसको लागि हृदय देखि आभारी छु तसंग। तर एउटा कुरा तैले मलाई त्यो हदसम्म चिन्ने मौका पाएको छस् जति अरुले छैनन् । त्यसैले नि त चुपचाप हुनसक्छस्, अर्को कुरा ईन्टरनेटका जमानामा मान्छेहरु फेस्बुक, ट्विटरमा क्रोध, खुसी पोखाउन ब्यस्त छन् । तर म भने तसंग नै छु यसैले नि त खुसी हुनसक्छस्। खुसी त छस् नि ?

जिवनको मोडमा भेटिएका कयौ अपरिचितहरुलाइ त संग परिचित गरिदिएकी छु,मैले घुमेका, देखेका प्रत्येक दृश्यहरुलाई त भित्र चिप्काइदिएकी छु । मन्दिरमा बसेका माग्ने देखि लिएर पशुपतिको आर्यघाटमा जिवनको अन्त्य घोषित गर्न लाइन बसेका लासहरुको पीडा त भित्र समेटदिएकी छु । मित्रहरुबाट पाएको बिस्वासघात नै किन नहोस् , देशको एकदम दया लाग्दो स्थितीमा नेतालाई दिएको गाली किन नहोस् ,छिमेकीले नाकाबन्दी गर्दा चिच्याउने नेपालीको पीडा किन नहोस् ,छिमेकी राष्ट्रले सिमा मिचेर राती सुत्दात नेपाली नै हुन्छ, बिहान उठ्दा अर्कै देशको नागरिक हुने हो कि भन्ने डर आफू भित्र फस्टाउने नेपालिको पीडा किन नहोस् , बाबुले छोरिलार्इ बलात्कार गरेको घटना किन नहोस् । न्याय नपाएकी निर्मलाको पीडा किन नहोस् ,पढ्न जादा टिचरबाट एसिड प्रहार भइ आफ्नो सौन्दर्यता गुमाउने बिद्यार्थीको रुवाई किन नहोस् ,हरेक पिडाका क्रन्दनहरुलाई तेरो पृष्ठहरुमा समेटिदिएकी छु। प्रिय त भित्र त्यति धेरै कुरा अटाइएको छ कि त्यति धेरै त मेरो अंश पनि नहोला ।

आकारमा सानो छ तर म र मेरो विश्व अटाइदिएको छ मेरो प्रिय डायरीले । अरे यार यति धेरै प्रगाढ अनि गहिरो दोष्ती त मानव र मानव बिचमा नि छैन होला । प्रिय डायरी त र मत एक अर्काका परिपुरक भएछौ। हेर, तलाई तेरो पृष्ठहरुमा मैले लेखेका लेखहरुले बिजय भइ मेरा ओठहरु मुस्कुराउदा हाय मेरो लक्की डायरी भनी सम्झीने गरेकिछु, धुलोमाण्डु अनि त्यहा नभेटिने आफ्नो पन जस्लाइ भेटाउन मेरो आफन्त भनी सम्झिने गरेकी छु, करोडौको भिडमा आफुलाइ अब्बल बनाउन प्रयासरत हुदा हुँदै कहिलेकाहीँ हार माथी बजारिदा मेरो लठ्ठी मेरो सहारा भनी सम्झिने गरेकी छु। मेरो डायरी त बुझिने भाषामा लेखिएको तर बुझ्न नसकिने संस्कृतको लेख होस्,मेरो भोक समेटिएको खाना र तिर्खा समेटिएको प्यास होस् । त भित्र मेरो हार नि जित र जित नि खुशिको उत्सव भएर लिखित रुपमा पाजिएको छ, त्यसैले म भन्छु बरु म आफै च्याताउ ,मेटाउ, फुटाउ वा हराउ तर मेरो डायरी त सकुशल हुनु पर्यो, त मेरो साथै हुन पर्यो। प्रिय मेरो संसार तेरो र मेरो सम्बन्ध सधा भन्दा प्रगाढ हुन पर्यो। तेरो सानो अंश म।।

कृष्टिना कार्की, काठमाडौँ

प्रतिकृया

प्रतिकृया

Advertisement