मेरो डायरी


mukhundo.com, २०७७ जेठ ३२ आइतबार


मेरो डायरी

सानामा । अझ विद्यालय जीवनमा । अझ भनौँ कलेज जीवन सुरुआतमा । डायरी पल्टाउने लेख्ने र लेखाउने धेरै थियो । त्यो बेला धेरै मिठा थिए । धेरै तिता थिए । केही खुसी थिए । केही निराशा पनि ।

अँ… साच्ची, विर्सेछु डायरी लेख्न । छुटेछु जीवनका तिता मिठा अनुभूती टिपोट गर्न । डायरीका पन्नाहरु नपल्टाएको पनि बर्षौँ भएछ । यो बीचमा सहपाटी छुटे । खेतका गह्राहरुमा मलका थाक लगाउन छुटे । जंगलमा साथीसंगीसंग लुकामारी गर्न छुटे । छुटे त ती गाउँघरको मेलापात र हाटबजार पनि ।

छुटेका कुराहरुको के लेखा जोखा गरुँ । बासंगको सम्बाद छुट्यो । हजुरबासंगको बोलीचाली छुट्यो । खेतका गह्राहरुमा धानका बालाहरुसंग लुकामारी छुट्यो । खैर, अहिले खेतमा कुरोहरुको जमात बढेको छ । तैपनि हेर्न पुगेको छैन, त्यो पनि छुट्यो ।

जीन्दगीको गाडी चलाएर आज छुटेको कुरा सम्झदा, मन भकानिन्छ । बरालिन्छ । तैपनि जीन्दगीको गाडी त हाक्नु, नै पर्यो । छुटेका कुरा सम्झनका लागि पनि समय चाहिने रहेछ । त्यही मेसो मिल्यो कोभिड १९, बन्दाबन्दी ।

अझ धेरै छुटेको कुरा त मेलामा बा…… खाना खान आउनुस् भनेर चिच्याएको दिनहरु छुटे । दाई…… कुलोमा पानी आएन भन्दै चिच्याहटका स्वर छुटे । आमालाई ढाटेर खेलेर बसेका दिनहरु छुटे । विहान उठेर घाम नआउन्जेल झ्यालबाट हिमाल हेरेका दिन छुटे । गाउँ फेरिए । गोरेटो हराए । अनि म पनि कतै हराए ।

प्रिय डायरी,

तिमीसंग के के छुटेछु, के के । खैर, अब त यहाँ लेखेर साँध्य छैन । हरियो लुगा, हरियो झोला, बन्दुक र हरियै हेलमेटमा आएका छापामारहरु कुन्नी अचेल कता छन् । घरका स–साना खोपाबाट चिहाएर हेर्न त्यो खोपा अब गाउँघरमा अझ होलान् ?

गाउँ फेरिए । घरका आगन फेरिए । आगनमा पर्खाल ठड्याए । रंगी विरंगी बनाए, र बारे सबैले । एकपछि अर्को गर्दै टाढीए । वल्लो पल्लो छिमेकी भेट्न छोडियो । साइला, माइला दाई परदेशीए । साइली, माइली भाउजूले अर्कै घरजम गरे । परदेशीएका साइला, माइला दाई उतै हराए । खेत बाँझियो । गहुँका बाला हरायो । धानका ब्याट हरायो । अनि हराए कतै म पनि ।

…………………………………

र आजकल भेटिन्छु रेडियोमा । विस्तारै हराएका गाउँको गोरेटो । फेरिएका गाउँ अनि बदलिएका मानव आकृति । फेरिएका संस्कृति । बाझिएका खेतबारी । फुर्सदिला नौजवान । फेरी चिन्ता लाग्छ । साइला माइला दाई जस्तैगरी परदेशिन्छ की ती नौजवानहरु….. । साइली माइली भाउजु जस्तै बदलिन्छ की अन्तरी जन्तरीहरु पनि……..।

……………………………………

अचेल बारहरु पनि याद हुदैन । आज कुन बार हो भन्ने पनि चासो हुदैँन । मंगलबार पनि शनिबार जस्तै लाग्छ । शुक्रबार पनि शनिबारकै आभास हुन्छ । घरमै बसेको छु । पर्खालमा चुकुल लागेको छ । घर नपुगेको पनि धेरै भयो । स–साना नानीहरुलाई भाउजू दिदिहरुले राम्रोसंग हात धुन लगायो की लगाएन । मिचिमिचि धोइ दिएकी दिएनन् । की आफैलाई धाटेर २० सेकेण्ड नपुग्दै रोकियो की ? अचेल घरमा फोन गर्दा कोराना भाइरसबाट बच्न कोराइनटीनमा बसौँ, कोरनाका लक्षणहरु, भन्ने सन्देश पुरै सुने की आधा मात्रै । कति थपिए । कतिले ज्यान गुमाए । बन्दाबन्दी बढ्छ की थप्छ ।

सबैले माक्स लगाए की छैन । डाक्टरले लगाउने पीपीए पाए की पाएनन् । ज्याला मजदुरी गर्ने मजदुरको चुलो बलेकी बलेनन् । भोको पेट, मृत्युको संघार, कठै ! त्यो मजदुरी साइला दाईको छटपटाहट । अँ… साच्ची म त भावनामा डुबेछु । डायरीमा के के लेख्नुपर्ने के के पो लेखेछु । गन्थन मन्थन ।

बाँकी अर्को डायरीमा भेटौँला ।

प्रतिकृया

प्रतिकृया

Advertisement