Mukhundo.com

दोरम्बा गाँउपकिालका २ दोरम्बाको नीति तथा कार्यक्रम सार्वजनिक


mukhundo.com, २०७७ जेठ ३१ शनिबार


दोरम्बा गाँउपकिालका २ दोरम्बाको नीति तथा कार्यक्रम सार्वजनिक

दोरम्बा । दोरम्बा गाउँपालिका वडा नं २ दोरम्बाले वडा स्तरीय निति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

‘स्वास्थ्य, कृषी र पर्यटनमा मुख्य सुधार, दोरम्बा २ नं वडाको मूल आधार’ नारा सहित वडा कार्यालयले नीति तथा कार्यक्रम सर्वाजनिक गरेको हो । वडाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमामा आर्थिक विकास नीतिमा कृषी, पर्यटन उद्योग, स्थानीय व्यापार तथा उत्पादनमा जोड दिएको छ । नीतिमा कृषी, पर्यटन र उद्योगलाई आधार मानेर आगामी ३ बर्षमा युवालाई आत्मानिर्भर हुने उल्लेख गरिएको छ ।

यस्तै पशुपालनका लागि आश्यवक कृतिम गर्भाधरण प्रणालीको विकास तथा, कृषीमा ५० प्रतिशतसम्मको स–सर्त सौहलियतको व्यवस्था गर्ने उल्लेख गरिएको छ । कृषी उपजलाई भण्डारण गर्न चिस्यान केन्द्र निर्माण तथा पर्यटनको विकासका लागि दोरम्बा हत्याकाण्ड स्मृतीमा भिरडाडाँदेखि सहिदपार्क सम्म गोरिल्ला पदमार्ग बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

किवी तथा चिया खेतीका लागि आवश्यक औजार तथा दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गर्ने र कृषी तथा भेटनरी जेटीएको व्यवस्था गरी कृषी उत्पादनमा जोड दिने र पर्यटकलाई सहजताका लागि सुचना केन्द्र र होम स्टे तालिम दिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै उद्योग तथा सहकारी नीतिमा वडाको नीति तथा कार्यक्रममा स्थानीय खोला तथा नदीबाट उत्पादन हुने गिट्टी बालुवा तथा ढुंगा खानी संचालनमा मापदण्ड बनाएर संचालन गर्ने र गराउने उल्लेख गरिएको छ । सहकारी तथा गैर सरकारी कार्यालयहरुले गर्ने योजना तथा कार्यक्रमको अनुगमन तथा साँझेदारीमा संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै सफल उद्यमीलाई उद्यमी गर्न प्रोत्साहन गर्ने र उत्कृष्ट उद्यमीलाई पुरस्कारको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै वडा कार्यालयको पशुसेवा नीतिमा पशुपालनमा युवालाई आकर्षित गराउनका लागि स–सर्त ५० प्रतिशत अनुदानको व्यवस्था गरी युवालाई पशुपालन व्यवसायीमा आकर्षण गरी स्वरोजगार बनाउने उल्लेख गरिएको छ । पशु पालन सम्बन्धी तालिम तथा विक्रि केन्द्रमा स्थापना गरी पशुपालनमा युवालाई प्रेरित गर्ने पनि नीति तथा कार्यक्रमले समेटिएको छ ।

वडा कार्यालयले शिक्षा तथा सामाजिक विकास नीतिमा सबैका लागि अनिवार्य शिक्षा अभियानलाई अगाडी सारिएको छ । विद्यार्थी भर्ना अभियान, विद्यालयको भौतिक, शैक्षिक गुणस्तरमा जोड दिएको छ । बाल विकास कक्षा संचालन तथा कक्षा १ देखि ३ सम्म अग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शिक्षा नीतिमा एक विद्यालयमा एक जनप्रतिनिधिले नियमित अनुगमन गर्ने पनि जनाएको छ । काकलिङ माविलाई प्रविधिमैत्री तथा गरिबी, दलित तथा जेहेनदार विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गरी बालबालिकालाई शिक्षामा प्रेरित गर्ने नीति तथा कार्यक्रमले जोड दिएको छ ।

यस्तै वडाको नीति तथा कार्यक्रममा वडाभरी भन्ने विभिन्न भवनमा नक्सा पास गरी निर्माण गर्ने र अनुगमन तथा भु–कम्प प्रतिरोधी बनाउनेमा ध्यान दिने बताइएको छ । यस्तै दोरम्बामा दुई वटा झोलुंगे पुल निर्माण गर्ने पनि उल्लेख गरिएको छ । बरखुवा र दोई खोलामा एक एक वटा झोलुंगे पुल निर्माण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै बन वातवरण तथा विपद् व्यवस्थापन नीतिमा वातवरण मैत्री स्थानीय शासनको स्वीकृत सुचकहरु प्राप्तिका लाथि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने उल्लेख छ । यस्तै सार्वजनिक स्थलमा सार्वजनिक सौचालय बनाउने तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको क्षमता विकास गर्ने नीति लिएको छ ।
यस्तै स्थानीय बन उपभोक्ता समिति, समुह, सामुदायिक बन तथा कबुलियती बन समुहसंग सहकार्य गरी बन संरक्षणका लागि बृक्षारोपन गर्ने कार्यक्रममा उल्लेख गरीएको छ । पानीको मुहान संरक्षण योजनालाई प्राथमिकतामा राखी बन पैदावारको संरक्षणमा जोड दिने उल्लेख गरिएको छ ।

यस्तै संस्थागत विकास तथा सेवा प्रवाह नीति अन्तरगत वडाको सबै सुचना वडाको आधिकारीक वेबसाईट र सुचना पाटीमा सार्वजनिक गर्ने र नागरिकलाई सहज हुने विभिन्न सञ्चार माध्यमको प्रयोग गर्ने नीति तथा कार्यक्रमले समेटिएको छ ।

यस्तै वडाले बजेट कार्यन्वयन गर्नु पूर्व बनेको सबै उपभोक्ता समितिले अनिवार्य रेडियो ताल्चुईगढीेमा सुचना सर्वाजनिक गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै न्यायिक समितिबाट हुने सबै काम सहज, सरल तथा जनमैत्री बनाउने तथा सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा अपांग, विपन्न तथा महिलालाई लक्षित गरी ह्यान्डीक्राप्ट तालिम संचालन गरी स्वरोजगार बनाउने उल्लेख गरिएको छ ।

वडा कार्यालयको नीति तथा कार्यक्रमा दोरम्बाका ४ वटा सडकको स्तर उन्नती गर्ने र गर्नका लागि आवश्यक पहल गर्ने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा दोरम्बा– टोकरपुर, दोरम्बा–गाल्पा–मन्थली, दोरम्बा– गाल्पा– काठमाडौँ तथा दोरम्बा– शैलुङ सडक खण्ड स्तर उन्नतीका लागि आवश्यक बजेट तथा केन्द्र, स्थानीय र प्रदेश सरकारसंग सहकार्य गर्ने उल्लेख छ । दोरम्बा चक्रपथलाई व्यवस्थित तथा थप आवश्यक ठाउँमा ट्रयाक ओपन गरी चक्रपथलाई पूर्णता दिने नीति तथा कार्यक्रमले समेटिएको छ । यस्तै शान्ती पार्कको स्तर उन्नतीको कार्यलाई पनि निरन्तरता दिने उल्लेख छ ।

यस्तै वित्तिय ब्यवस्था तथा सुशासन नीतिमा स्थानीय स्तरमा हुने राजस्व संकलनलाई व्यवस्थित बनाएर राजस्व संकलनलाई स्तर बृद्धि गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । स्थानीय स्तरमा उत्पादन हुने आलु तथा किबीको नमुना स्तम्भ बनाई देश तथा विदेशमा प्रसार प्रसार गर्ने र पर्यटकलाई भित्र्याउने नीति तथा कार्यक्रमले समेट्ने उल्लेख गरिएको छ । दोरम्बामा पर्यटन सुचना बोर्ड, जेष्ठ नागरिकलाई सम्मान तथा विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरुको लगत संकलन गर्ने कार्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै नीति तथा कार्यक्रममा स्वास्थ्य तथा सरसफाई नीतिलाई विशेष जोड दिएका छन् । दोरम्बा अस्पतालको भवन निर्माणमा सहजीकरण गर्ने तथा मातृशिशु मृत्युदर कम गर्ने गर्भवती र उनको परिवारसंग कम्तिमा ३ पटकसम्म अन्तरक्रिया गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । दोरम्बा अस्पताललाई २४ सैँ घण्टा संचालन गर्ने कोभिड १९ को रोकथामका लागि आवश्यक कोराइटीनको व्यवस्था गर्ने उल्लेख गरिएको छ । यस्तै नीति तथा कार्यक्रमा वडाका सबै जनताको स्वास्थ्य विमा गर्ने उल्लेख गरिएको छ ।

यस्तै नीति तथा कार्यक्रमा महिला, बालबालिका, दलित, युवा तथा जेष्ठ नागरिकलाई छुट्टै कार्यक्रम ल्याएको छ । युवा शक्तिलाई स्वदेशमै रोजगारी दिनका लागि समुहगत अनुदान दिने तथा निशुल्क स्वस्थ्य शिविर राखिने उल्लेख छ । वडालाई बालमैत्री तथा छुवाछुत मुक्त वडा घोषणा गर्ने नीति तथा कार्यक्रमले अवलम्बन गरिएको छ । नीति तथा कार्यक्रमा खेलकुदलाई पनि प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा दोरम्बा सहिद स्मृ ितकप संचालन गर्ने उल्लेख छ । यस्तै दोरम्बाको विभिन्न डाँडामा रहेको आर्यघाटलाई केन्द्रिकृत गर्ने उल्लेख छ ।

प्रतिपक्षको नजरमा नीति तथा कार्यक्रम

सार्वजनिक नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको प्रतिपक्ष दलले उल्लेख गरिएका छन् । केही बुदा तथा कार्यक्रममा सुझाब दिएका प्रतिपक्ष दलका नेताहरुले समग्रमा नीति तथा कार्यक्रम राम्रो भएको उल्लेख गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रतिनिधी केशव कुमार लामाले नीति तथा कार्यक्रममा टिका टिप्पनी भन्दा पनि सुझाब रहेको बताए । उनले प्रतिपक्षले विरोध गर्ने भन्ने परिपाटी नभई राम्रो पक्षलाई साथ दिने र नराम्रो पक्षलाई विरोध गर्नु प्रतिपक्षको भूमिका भएको भन्दै उनले नीति तथा कार्यक्रमलाई समर्थन गरेका थिए । उनले दोरम्बा बजारको व्यवस्थापनका विषयमा केही भाषा तथा स्थानीयलाई बुझाउन नसक्दा बजेट फ्रिज भएको बताउँदै बजेट फ्रिज जान नदिनका लागि सरकार तदारुकताका साथ लाग्नुपर्ने उल्लेख गरे ।
यस्तै राप्रापाका प्रतिनिधी लाल बहादुर घिसिङले बजेटमा समेटिएको विषय राम्रो भएको बताए । उनले नीति तथा कार्यक्रम राम्रो भए पनि जनतालाई विकास योजनाको निर्माण तथा संभाव्यता अध्ययन प्रतिबेदन निर्माण गर्दा गर्नुपर्ने जानकारी समयमै नदिदा विकासका काम अघि बढ्न नसकेको उल्लेख गरे । उनले डिपीआर निर्माण गर्दा स्थानीय जनतासंग नजिक भएर गर्नुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा नेकपाका दोरम्बा गाउँ कमिटीका अध्यक्ष मेचमान लामाले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट भएको बताए । उनले सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि सबै दल एक ठाँउमा उभिएर विकासको काममा लाग्नुपर्नेमा जोड दिए । उनले विगतका दिनमा विकास निर्माण कार्यक्रम समन्वय र सहकार्य नहुँदा विकास निर्माणमा असहजता भएको भन्दै आगामी दिनमा सहकार्य र समन्वयनलाई प्राथमिकतामा राख्ने उल्लेख गरेका थिए ।

यस्तै नेकपा रामेछापका सदस्यहरु मिलन घिसिङ, धनबहादुर तामाङ, टिका मालबुकेले नीति तथा कार्यक्रमका विषयमा आफ्ना धारणा राखेका थिए ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement