काठमाडौँ । शुक्रबार विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा लमजुङका सोमप्रसाद श्रेष्ठ रुग्न कुरिरहेका थिए । मलिन निन्याउरो अनुहार लिएर विमानस्थलबाट विशिष्ट व्यक्ति बाहिरिने कक्षको गेटमा कुरीरहेका थिए ।
उनी मात्र होइनन् उनको श्रीमती छोरी आफन्त र छरछिमेकी समेत त्यही थियो । उनी अरु कसैलाई कुरिरहेको नभइ द्वन्द्वग्रस्त मुलुक लिबियामा गत असार १७ बम बिस्पोटमा परि मृत्यु भएका उनका छोरा सन्तोष श्रेष्ठको लाश कुरिरहेका थिए ।
सन्तोषको मृत शरिर शुक्रबार विहान १० बजे कतार एयरलाइन्स्बाट आउने निर्धारित समय थियो । तर समयमै जहाज अवतरण हुन नसक्दा उनी शोक, भोकका कारण मलिन अनुहार लिएर विमानस्थलबाट यात्रुहरु बाहिरिने कक्षमा कुरिरहेका थिए ।
सन्तोष गएका पौषमाघमा मात्र लिबिया गएका थिए । उनी नेपालबाट अबैधानिक बाटो हुदैँ लिबियासम्म पुगेका हुन् । उनी त्यहाँ पुगिसकेपछि अलपत्र परेको र अन्तर्राष्ट्रिय आप्रवास संगठन आइओएमको टोलीले उद्धार गर्न खोज्दा उनी उक्त उद्धार टोलीमा नअटेर पुनः लिबिया नै फर्केका थिए ।
उनी कुन मेनपावरबाट गएको हो भन्ने अझै टुंगो लागेको छैन । उनी दलाल मार्फत अबैध बाटो हुँदै लिबियासम्म पुगेको उनको बुवाले सोमप्रसादले बताए ।
झण्डै १५ लाख रुपैयाँ खर्च गरेर उनी लिबिया पुगेका थिए । लिबिया द्वन्द्वग्रस्त मुलुक भएकाले उनी लिबियामा काम गर्न नसक्ने र त्यहाँ बस्न मस्किल हुने भएपछि उनी इटाली जाने भन्दै घरमा सम्पर्क गरेका थिए । घरबाट २ लाख रुपैयाँ खर्च दिएर उनी इटाली जाने योजनामा थियो ।
लिबियाबाट नेपाल फर्काउने प्रयास अन्तराष्ट्रिय श्रम संगठन आइएलओले गरेका थिए । तर आइएलओले उद्धार गरेको जहाजमा ८ जना मात्र अटायो । र उनी फेरी लिबिया नै पुगेको उनको परिवारले बताएका छन् । लिबियामा नेपाली दुताबास नभएको र कायोरोमा रहेको नेपाली दुताबासले उनको मृत्यु भएको पुष्टि गरेका थिए ।
उनी प्लस टु गाउँमै गरेका थिए । र थप पढ्नका लागि उनी काठमाडौँ आए काठमाडौँमा होटल म्यानेजमेन्ट पढेका सन्तोष एक महिनाजति पोराखमा रहेको एक विद्युत आयोजनामा समेत काम गरे । तर उनी उक्त काम छोडेर लिबियाको यात्रामा निस्केका थिए ।
उनी यसअघि मलेसिया र कतारमा समेत गएका थिए । मलेसिया र कतारमा भनेको जस्तो नभएपछि उनी नयाँ गन्तब्यको खोजि गरेर लिबियाको जोखिम मोल्न पुगेको उनको बुवाले बताए । मलेसिया र कतारमा जाँदा अरुबाट लिएको पैसा चुक्ता गरिसकेका थिए । तर नयाँ गन्तव्यमा जानका लागि उनले आफूसंग भएको ३ लाख र बुवासंग भएको ५ लाख र गाँउकै सहकारीबाट लिएका ५ लाख ऋण लिएर लिबियाको यात्रामा निस्केका थिए ।
लमजुङ भुर्तेका दिनेश बस्नेत उनका साथी थिए । उनी पनि लिबियामा संगै गएको थिए । तर सन्तोष चाँही लिबियाबाट फर्कन सकेन दिनेशलाई आइएलओको टोलीले उद्धार गरियो । उनीसंगै गएका टोलीहरुमा उनी एक्ला भए । उनले जेठ १९ गतेसम्म घरमा सम्पर्क भइरहेको थियो । अनलाईनबाट उनको र घर परिवारको कुराकानी हुन्थ्यो । तर जब जेठ १९ पछि कुनै सम्पर्कनै भएन । र उनको असार १७ मा भएको बम विस्पोटमा परि ज्यान गयो ।
उनको मृत्यपछि उनको आफन्तले टिभि रेडियो तथा अनलाईन पोर्टलहरुमा आएपछि उनका आफन्तले सन्तोषको खोजी गरेका थिए । पछि २५ असारमा सरस्वती अधिकारी र सोमप्रसाद काठमाडौँ आयो र क्षतिपुर्ति स्वरुप सरस्वतीले सोमप्रसादलाई २५ लाख रुपैयाँ दिने ।
सरस्वती अधिकारी सन्तोषलाई पठाउने माइकल अधिकारीकी आमा हुन् । सन्तोषलाई माइकलले लिबिया पठाएका थिए । तर सहमति अनुसारको रकम अहिले दिएको छैन । यसमा दिनेश बस्नेत लगायतको पनि सम्लग्न रहेको देखिन्छ । दिनेश लिबियाबाट आइएलओले उद्धार गरेको टोलीमा उद्धार भएका थिए ।
यता सन्तोषको लाश नेपाल ल्याउन निकै कठिन भयो । झण्डै तीन महिना जति लाग्यो उनको शब नेपाल आइपुग्न । १७ असारमा उनको मृत्यु भएको थियो । लिबियामा नेपालको सिधा सम्पर्क नभएको तथा उनी अबैधरुपमा रहेका कारण उनको शव नेपाल ल्याउन मश्किल परेको हो ।
नेपालको आधिकारित दुताबास लिबियामा नरहेका कारण इजिप्टको कायोरामा रहेको नेपाली दुतावासले लिबियाको समन्वयन गर्नुपर्ने भएकाले शव ल्याउन ढिलो भएको देखिन्छ । सन्तोषको शव मृत्यु भएको ८७ दिनपछि नेपालमा आएको छ । उनको पशुपति आर्यघाटमा शुक्रबार हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।