Mukhundo.com

अन्तरिक्ष यात्री सकुशल फिर्ता


mukhundo.com, २०७६ असार १० मंगलबार


अन्तरिक्ष यात्री सकुशल फिर्ता

वासिङटन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीनजना अन्तरिक्ष यात्री मंगलबार सकुशल पृथ्वीमा फर्केका छन्। अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यबारे आशंका उत्पन्न भइरहेका समयमा रूसी वैज्ञानिकलाई सफलता प्राप्त भएको हो ।

अन्तरिक्ष यात्रीहरु कजाखस्तानको झेखाजगान सहरनजिकै सकुशल अवतरण गरेका हुन् । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्ष यात्रीमा नासाका आन क्याकक्लेन, वरिष्ट रूसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक केन्द्रका डेभिड सेन्ट–ज्याक्स छन् ।

नासा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको अवतरणको दृश्यमा तीनै जना यात्रु पृथ्वीमा अवतरण गरेपछि साथीहरुसँग मुस्काइरहेका देखिन्छन् । क्यानाडाली र अमेरिकी अन्तरिक्ष यात्री कजाखस्तानबाट मस्को हुँदै स्वदेश फर्किने जनाइएको छ ।

अन्तरिक्ष यात्रीहरू सन् २०१८ को डिसेम्बर ३ मा रूसी यान सोयुजबाट अन्तरिक्षमा गएका थिए । तर रूसी अन्तरिक्ष यात्री अलेक्सी ओभ्चिनीन र अमेरिकी अन्तरिक्ष यात्री निक हेग चढेको यान भने दुर्घटनाग्रस्त भएको थियो । उड्नासाथ दुर्घटना भएपछि उनीहरूले आपत्कालीन अवतरण गरेका थिए ।

चालीस वर्षीया अन्तरिक्ष यात्री म्याकक्लेनले गरेको ट्वीटमा पृथ्वीमा अवतरण गर्नुअघि आफूले अन्तिम पटक अफ्रिकी आकाशमाथिबाट गुज्रेको बताए । अन्तरिक्ष केन्द्रमा रहँदा उनी दुई पटक अन्तरिक्षमा हिँडेका थिए ।

सन् २०११ देखि रुसले मात्र अन्तरिक्ष केन्द्रमा मानिस पठाएको छ । अमेरिका समेतका मुलुकले अन्तरिक्ष यात्रा खर्चिलो भएको भन्दै हाल स्थगित गरेका छन् । हालसम्म ७ पर्यटकलाई अन्तरिक्ष केन्द्रमा पठाइसकेको रूसले सन् २०२१ देखि यसमा वृद्धि गर्ने जनाएको छ ।

२४ भूउपग्रह एकै दिन प्रक्षेपण
अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।

विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित स्पेस एक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । यसअघि निकै कठिन मानिएको अभियान सफल भएको कम्पनीले जनाएको छ ।

अमेरिकाको फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी रकेट प्रक्षेपण गरिएको हो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो । ‘स्पेस एक्स कम्पनीको इतिहासमा यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो र यस अभियानका लागि करिब ६ घण्टा लागेको थियो,’ कम्पनीले भनेको छ ।

स्पेस एक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई पनि यसपटक पुनः प्रयोग गरिएको हो । अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित स्पेस एक्सले अन्तरिक्षमा पर्यटनमा लैजाने योजना अघि सारिसकेको छ ।

प्रतिकृया

प्रतिकृया

Advertisement