दोरम्बा हत्याकाण्डका मृतकको सम्झनामा प्रतिमा स्थापना


दोरम्बालाई युद्ध पर्यटनको घोषणा गर्ने

mukhundo.com, २०७६ असार १० मंगलबार


दोरम्बा हत्याकाण्डका मृतकको सम्झनामा प्रतिमा स्थापना

काठमाडौँ । प्रदेश ३ को सरकारले रामेछापको दोरम्बा हत्याकाण्डको सम्झनामा घटनास्थल डाँडाकटेरीमा मृतकहरुको प्रतिमा (सालिक) निर्माण गरेको छ।

प्रदेश ३ को आर्थिक सहयोगमा दोरम्बा गाउँपालिकाले तत्कालिन १९ जना माओवादी नेता तथा कार्यकर्ता र २ जना शिक्षक परिवारको प्रतिमा स्थापना गरेको हो।

दोरम्बा हत्याकाण्ड २०६० साल साउन ३२ गते भएको थियो। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का निशस्त्र कार्यकर्तालाई उति बेलाका शाही नेपाली सेनाले पक्राउ गरी हत्या गरिएको थियो।

सोही घटनाको सम्झनामा २१ जनाको प्रतिमा (सालिक) स्थापना गरिएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले बताए।

साविकको डडुवा गाविसको डाँडाकटेरीमा तत्कालिन माओवादीका बैकल्पिक पोलटब्यूरो नेता बाबुराम तामाङको प्रतिमा स्थापना गरिएको छ। यस्तै माओवादीका अन्य नेताहरु अम्बिका दाहाल, प्रदीप दोङ, उमा कार्की, ठूलोराम तामाङ, चतुरमान थामी, सोमई थामी, टेकबहादुर थापामगर, विष्णु थापामगर, श्याम तामाङ, हर्क घिसिङ, रवि चौहान, उषा चौहन, हर्कलक्ष्मी राई, लक्षुमन तामाङ र जमिन तामाङको पनि प्रतिमा निर्माण गरिएको छ। घटनामा मृत्यु भएका दुई शिक्षक परिवार युवराज मोक्तान, लिला मोक्तानको पनि प्रतिमा स्थापना गरिएको गाँउपालिकाका अध्यक्ष मोक्तानले नेपाली पब्लिकलाई बताए।

युवराज र लीला बाउछोरा हुन्। युवराज स्थानीय विद्यालयका शिक्षक थिए। उनको घरमा माओवादीको जिल्ला स्तरीय बैठकमा सेना प्रवेश गरी २१ जनाको हत्या भएको थियो। निर्माण भएको प्रतिमाको अनवरण यही साउन ३२ गते गरिने गरिदै छ। प्रतिमा २० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

कसरी भएको थियो दोरम्बा हत्याकाण्ड ?

दोरम्बा हत्याकाण्ड तत्कालिन माओवादी र सरकारबीच दोस्रो चरणको शान्ति बार्ताका बेला भएको थियो। माओवादी र सरकारबीच दोस्रो चरणको बार्ता दाङको हापुरे हुँदै गर्दा दोरम्बा हत्याकाण्ड हो।

हत्याकाण्डपछि सरकार र माओवादीबीचको बार्ता बिथोलिएको थियो। घटनामा तत्कालिन माओवादीका बैकल्पिक पोलिट ब्यूरो सदस्य बाबुराम तामाङ लगायत १९ जना नेता तथा कार्यकर्ता र दुई जना शिक्षक परिवारको हत्या भएको थियो।

दोरम्बामा निशस्त्र अवस्थामा रहेका माओवादी नेता तथा कार्यकर्तालाई पक्राउ गरी ३ किलोमिटर वर साविकको डडुवा गाउँ विकास समिति ५ डाँडाकटेरीका हत्या भएको हो।

हत्या भएको १६ वर्ष बित्नै लाग्दा समेत पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन्। दोरम्बा हत्याकाण्डका पीडित परिवारले २०७३ जेठ २८ गते सत्य निरुपन तथा बेपत्ता आयोगमा सामूहिक उजुरी गरेका थिए। तर अहिले आयोगको समयसीमा सकिएपछि उक्त उजरी अलपत्र छ। आयोगमा उजुरी दर्ता गर्दै पीडित परिवारले घटनामा सम्लग्नलाई कार्बाहीको माग गरेका थिए।

मानवअधिकार टोलीले छानबिन

तत्कालिन माओवादीले सोही दोहोरो भिडन्तमा परि आफ्ना कार्यकर्ताको मृत्यु नभएको र सेनाले सामूहिक हत्या गरेको भन्दै विरोध जनाएको थियो । उसले मानवअधिकारवादी संघसस्थालाई उक्त घटनाको छानबिन गर्न माग गरेको थियो।

सोही घटनलाई लिएर अन्तराष्ट्रिय मानव अधिकारबादी संस्था एमनेष्टि इन्टरनेसनलले दुई चरणमा गरेको अनुसन्धानमा दोहोरो भिडन्तमा मारिएको नभई सामुहिक हत्या (युद्ध अपराध) भएको निष्कर्ष निकालेको थियो।

एमनेष्टिले समाधि स्थलको उत्खनन्, हत्या भएको बेलाको वस्तुस्थितिको अवस्थाका बारेमा अनुसन्धान गरिएको थियो। अनसन्धानमा नेपाली सेनाले हातखुट्टा बाँधेर टाउकोमा गोली हानेर मारिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो। र सोही निष्कर्ष तथा प्रतिवेदनकै आधारमा त्यतिबेला सरकारलाई हत्यामा संलग्न नेपाली सेनाका तत्कालिन नारायण दल गणका मेजर राममणी पोखरेललाई कारबाहीका लागि सिफारिस गरिएको थियो। तर सरकारले पोखरेललाई कारबाही नगरी अवकाश दिएको पीडित पक्षको आरोप छ।

युद्ध पर्यटनको घोषणा

दोरम्बा हत्याकाण्ड माओवादीले संचालन गरेको शसस्त्र युद्धमा सरकार पक्षले गरेको प्रमुख युद्ध अपराधको रुपमा लिने गर्दछ। तत्कालिन माओवादी र हालका नेकपाले रामेछापलाई पूर्वका रुकुम रोल्पाको रुपमा लिने गर्दछ। सोही अनुसार रामेछापको दोरम्बालाई युद्ध पर्यटनको रुपमा विकास गराउने योजना नेकपाले अघि सारेको छ।

गत वर्षको साउन ३२ गते घटनाको १५ वर्षपछि नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घटनास्थलमा पुगेका थिए। उनले दोरम्बालाई युद्ध पर्यटन क्षेत्रको विकास गर्ने घोषणा गरेका थिए। सोही अनुरुप अहिले दोरम्बालाई युद्ध पर्यटन घोषणा गर्न पूर्वाधारको निर्माण गाउँपालिका लागिपरेको दोरम्बा गाँउपालिकाका अध्यक्ष कमासिंह मोक्तानले बताए।

अहिले खैरेनीघाट–गाल्पा–दोरम्बा र शैलुङसम्मको सडक स्तरउन्नती गर्ने योजना अघि सारिएको छ। यस्तै सित्खा–खाँडादेवी–दोरम्बा–शैलुङमा केवलकारको योजना पनि अघि सारेको छ। केलवकारले विस्तृत अध्ययन डिपिआर तयार हुँदैछ। आगामी दुई वर्षभित्रमा केवलकारको विस्तार गर्नेगरी काम अघि बढिरहेको अध्यक्ष मोक्तानले बताए।

यस्तै शैलुङसम्मको सडक सञ्जाललाई स्तर उन्नती गरी पर्यटनको विकास गर्ने र स्थानीय उत्पादन, कला, संस्कृतिको विकासको योजना गाउँपालिकाले अघि सारेको छ।

यसैगरी प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पनि दोरम्बालाई युद्ध पर्यटन घोषणा गर्न सहयोगी भूमिका खेल्ने बताए। उनले नेपाली पब्लिकसंग कुरा गर्दै दोरम्बा गाउँपालिकाको योजना र अवधारणलाई साथ दिने बताएको हो।

शैलुङसम्मको सडकमा कालोपत्रे गर्ने योजना प्रदेश सरकारले अघि सारेको छ। मन्त्री ढुंगेलले भने,‘अहिले हामीले शैलुङ र दोरम्बाको विकासमा जोड दिएका छौँ, दोरम्बा र शैलुङ पर्यटकी गन्तव्य घोषणा भईसकेकाले अब पर्यटकलाई भित्र्याउने पहिलो काम हो। हामी त्यसैमा लागि परेका छौँ।’

गएको बैशाखमा पहिलो शैलुङ महोत्सव सफल भएको स्मरण गर्दै मन्त्री ढुंगेलले आगामी अर्को वर्ष हुने महोत्सवलाई थप व्यवस्थित गर्न प्रदेश सरकार लागिपर्ने बताए।

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Latest News

Advertisement