सेनेटरी प्याड निःशुल्क हुनुपर्छ : नजबुल खान


mukhundo.com, २०७६ असार १० मंगलबार


सेनेटरी प्याड निःशुल्क हुनुपर्छ : नजबुल खान

नजबुल खान मुस्लिम समुदायकी सामाजिक अभियन्ता हुन् । उनी अहिले ‘राष्ट्रिय बेटी सम्मेलन’का कारण चर्चामा छिन् । उनी विगत एक दशकदेखि निःशुल्क प्याडको माग राखिरहेकी छिन् । यसै सन्दर्भमा नयाँ पत्रिकाका राज सरगमसँग उनले भनिन् :

रहर र ऐस–आरामका लागि प्रयोगमा ल्याइने कन्डम हाम्रो देशमा निःशुल्क पाइन्छ । तर, महिलाहरू महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड भने निःशुल्क उपलब्ध छैन । प्याडअभावमा महिला दिदी–बहिनीले भोग्नुपरेको पीडा पुरुषप्रधान समाजले
कहिले बुझ्ने ?
मुस्लिम समुदायका महिला महिनावारी हुँदा कसैलाई थाहा हुँदैन । अथवा ‘म छुइ भएँ’ भनेर भनिरहनुपर्दैन । तर, महिनावारी त हुन्छन् नै । पहिलोपटक महिनावारी हुँदा म खुबै डराएकी थिएँ । आत्तिएँ । ब्लिडिङ रोक्न मैले गोरखापत्र प्रयोग गरेको थिएँ । ब्लड नचुहियोस् भनेर गोरखापत्र अन्डरवेयरभित्र हालेकी थिएँ ।
०००
मुस्लिम समुदायमा मिन्स हुँदा प्रयोग गरिएका कपडा घाममा सुकाइँदैन । अरूले देख्छन् भनेर घाममा नसुकाइएको हो । शीतल छायामा सुकाउने चलन भने छ । तर, दुर्भाग्य ओतमा सुकाएको कपडा कत्ति पनि सुक्दैनथ्यो । कतिपय अवस्थामा त्यही गिलो कपडालाई पुनः प्रयोग गर्नुपथ्र्यो । त्यसो हुँदा संक्रमण छिटो हुन्थ्यो र खटिरा आउने गर्थे । पाठेघरमा समेत असर पथ्र्यो ।

अहिले पनि गाउँघरमा धेरै दिदी–बहिनीलाई सेनेटरी प्याड कस्तो हुन्छ भन्नेसमेत थाहा छैन । कतिले त नाम पनि लिन जान्दैनन् । ती दिदी–बहिनी झुत्रा कपडा प्रयोग गरिरहेका छन् । म्याक्सी तथा साडीका फोहोर टुक्रालाई बेर्नुपर्ने बाध्यता छ ।

तराईमा त झन् यो समस्या एकदमै भयानक छ । धेरै महिला दिदी–बहिनीले यसैका कारण ज्यान गुमाउनुपरेको छ । उदयपुरका धेरै गाउँमा यस्तो भएको देखेको छु ।
राष्ट्रिय बेटी सम्मेलनको क्रममा सातै प्रदेशमा पुगेर हामीले सेनेटरी प्याडका लागि अनुरोध गरेका छौँ । सचेतना जगाएका छौँ । प्रदेश नम्बर १ को विराटनगरबाट २०७५ पुस १९ गतेदेखि निःशुल्क प्याडको माग राख्दै आएकी छु । यसलाई देशव्यापी अभियानका रूपमा अघि बढाएकी छु । यसको खास योजनाचाहिँ ०६७ सालदेखि नै गरकी थिएँ ।
०००
स्वस्थ्य मन्त्रालयले कन्डम, तीन महिने सुई र गुलाब चक्कीजस्ता अस्थायी साधन निःशुल्क गरेझैँ सेनेटरी प्याडलाई पनि निःशुल्क गर्नुपर्छ भन्ने हाम्रो माग हो । यसका लागि घोषणापत्रसहित हामीले दबाब दिइरहेका छौँ । अहिले त हामीले देशव्यापी अभियानकै रूपमा अगाडि बढाइरहेका छौँ । प्रत्येक स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले सेनेटरी प्याडलाई अनिवार्य निःशुल्क गर्नुप-यो । प्याड किन्न नसक्ने महिलालाई तत्कालै स्थानीय सरकारले निःशुल्क प्याड वितरण गर्नुपर्छ भन्ने मागसहित छलफल अगाडि बढाइरहेका छौँ । ग्रामीण भेगका र दलित परिवारका महिलाको ज्यान नै खतरामा रहेकाले स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गरी सचेतना जगाउन प-यो भन्दै आइरहेका छौँ ।
०००
मासिक श्राव जहाँ, जतिखेर र जस्तो परिस्थितिमा पनि हुन सक्छ । त्यसैले, प्रत्येक सार्वजनिक यातायातको प्राथमिक उपचार बाकसमा अनिवार्य सेनेटरी प्याड राख्ने व्यवस्था हुनुपर्छ भन्ने हामीले माग राखेका छौँ । साथै, विभिन्न सार्वजनिक स्थानमा प्याडको व्यवस्था गरिदिए आपत्कालीन समयमा धेरै महिला दिदी–बहिनीलाई सहयोग पुग्थ्यो ।

प्रतिकृया

प्रतिकृया

Advertisement