ओखलढुंगा । ओखलढुंगाका एक प्रहरी अधिकारीले महिलामाथि यौन दुर्व्यवहार गरेपछि स्थानीयद्वारा चौकी घेराउ गरेका छन्। प्रहरी चौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले एक महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेराउ गरेका हुन्।
मदिरा सेवन गरेर अचेत बनेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए। मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेका विश्वकर्मा जिल्ला तानिएका हुन्।
स्थानीयको गुनासो र मौखिक जानकारी आएकाले अनुसन्धान गर्न उनलाई जिल्ला बोलाएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए। ‘प्रहरी असईले मदिरा सेवन गरी महिलालाई दुर्व्यवहार गरेको भन्ने गुनासो आयो। उनलाई अनुसन्धान गर्न जिल्ला बोलाएका हौँ,’ उनले भने, ‘यदि, गल्ती भएको रहेछ भने विभागीय कारबाहीका लागि सिफारिस हुन्छ।’
महिला अधिकारकर्मीले दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग गरेका छन्। ‘प्रहरीबाट महिला नै असुरक्षित भएको यो पहिलो घटना होइन। त्यसैले संलग्नलाई कडा कारबाही हुनुपर्छ,’ अधिकारकर्मी पेमडोमा शेर्पाले भनिन्। यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ।